काठमाडौँ। सामाजिक सञ्जालमा आएको विश्वकप हेर्न मिल्ने भन्दै गरिएको विज्ञापनको लिंकमा क्लिक गर्दा एक व्यक्ति साइबर ठगीको शिकार भएका छन्। उक्त लिंकमार्फत मोबाइलमा एप डाउनलोड गरेपछि उनको बैंक खाताबाट करिब १ लाख ४५ हजार रुपैयाँ चोरी भएको बताइएको छ।
पीडितका अनुसार एप डाउनलोड गरेलगत्तै मोबाइल फोन असामान्य रूपमा ह्याङ हुन थालेको थियो। केही समयपछि बैंकबाट आएको जस्तो देखिने सन्देश प्राप्त भएपछि उनले त्यसमा मागिएको पासवर्ड प्रविष्ट गरेका थिए। त्यसलगत्तै उनको खाताबाट दुई पटक गरी करिब १ लाख ४५ हजार रुपैयाँ निकालिएको जानकारी प्राप्त भएको थियो। साइबर सुरक्षाविज्ञहरूले सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापन, अपरिचित लिंक तथा शंकास्पद एप डाउनलोड गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। आधिकारिक स्रोतबाट पुष्टि नभएका लिंकमा क्लिक नगर्न, बैंकिङ विवरण तथा पासवर्ड कसैलाई नदिन र कुनै पनि एप डाउनलोड गर्नुअघि त्यसको विश्वसनीयता सुनिश्चित गर्न सुझाव दिइएको छ। यस्ता घटनाले सामाजिक सञ्जालमार्फत हुने साइबर अपराध बढ्दो क्रममा रहेको देखाएको छ। त्यसैले अनलाइन माध्यम प्रयोग गर्दा सबै प्रयोगकर्ता सचेत र सतर्क रहन आवश्यक देखिन्छ ।