धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रको लाम्पाटामा भएको कुटपिट घटनामा संलग्न व्यक्तिमाथि कारबाही नभएको भन्दै स्थानीयवासीले बिहीबारदेखि बाजुरा–हुम्ला सडकखण्ड अवरुद्ध गरेका थिए।
दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै रानीसैन संघर्ष समितिको नेतृत्वमा आन्दोलन गरिएको थियो। घटना भएको लामो समय बितिसक्दा पनि संलग्न व्यक्तिविरुद्ध मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुँदासमेत उनीहरू पक्राउ नपरेको भन्दै आक्रोशित स्थानीयले बुधबार जिल्लाका विभिन्न बजार क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गरेका थिए भने बिहीबारदेखि सडक अवरुद्ध गरेका थिए।
शनिबार सडक खुलाउन पुगेका प्रहरी अधिकारीसँग स्थानीयवासीबीच भनाभन भएको थियो। प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रम शाहले कानुनअनुसार सडक खुलाउन आग्रह गर्दा केही स्थानीयले ‘हामीलाई कानुन नपढाउनुस्’ भन्दै प्रतिवाद गरेका थिए। उक्त संवादका भिडियोहरू अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन्।
तीन दिनभित्र कुटपिट घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्ने सहमतिपछि शनिबारदेखि सडक सञ्चालनमा आएको छ। तर, निर्धारित समयभित्र दोषी पक्राउ नभए पुनः आन्दोलनका कार्यक्रमसहित सडक अवरुद्ध गरिने चेतावनी संघर्ष समितिले दिएको छ।
सडक अवरुद्ध हुँदा बाजुरा–हुम्ला चल्ने सवारी साधन बीच बाटोमै रोकिएका थिए भने यात्रुहरूलाई समेत सास्ती भएको थियो। यस घटनापछि सामाजिक सञ्जालमा स्थानीयको कदमलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले दोषीलाई कानुनी दायरामा ल्याउन दबाब आवश्यक रहेको बताएका छन् भने अर्कोतर्फ सार्वजनिक सडक अवरुद्ध गरेर सर्वसाधारणलाई दुःख दिनु उचित नभएको टिप्पणी गरेका छन्।