काठमाडौँ। दाङको लमही नगरपालिका–९ अमिलियास्थित एक होटलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार दिउँसो नमस्ते होटलमा गरिएको खानतलासीका क्रममा २१४ ग्राम ५ सय मिलिग्राम तौलको पहेँलो धातु बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–७ सुनपतरी नाका निवासी ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्माका २२ वर्षीय दिलिप परियार रहेका छन्। इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले होटलको कोठा जाँच गर्ने क्रममा उक्त धातु फेला पारेको थियो। बरामद धातुको प्रकृति र स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।