काठमाडौँ। जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्न सञ्चालन गरिएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये २० जनाको फैसला कार्यान्वयन हुँदा कुल ५ वर्ष ३ महिना ६ दिन कैद सजाय तथा ६ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल हुने छ। पक्राउ परेका व्यक्तिहरूलाई अदालतबाट तोकिएको सजाय तथा जरिवाना कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। प्रहरीले जिल्लाका विभिन्न स्थान—जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, शिवगञ्ज, बिर्तामोड, बैगुनधुरा तथा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीमार्फत उनीहरूलाई घर तथा लुकिछिपी बसेको स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये अधिकांश लागुऔषध मुद्दासँग सम्बन्धित रहेका छन्। विभिन्न समयमा अदालतले कैद तथा जरिवाना तोकेर फरार रहेका व्यक्तिहरू लामो समयदेखि लुकेर बसेका थिए। त्यसैगरी बैंकिङ कसुर, चेक अनादर, नागरिकता किर्ते, चोरी तथा बहुविवाह सम्बन्धी मुद्दाका फरार प्रतिवादीहरू पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार बैंकिङ कसुर, चेक अनादर तथा अन्य मुद्दामा दोषी ठहर भएका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले यस्ता फरार अभियुक्तविरुद्ध विशेष अभियान सञ्चालन गरिएको जनाएको छ।