काठमाडौँ । अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभ देखाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुलेर ठगी गरेको अभियोगमा रोल्पा घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–४ बस्ने ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।उनीमाथि एक जना पीडितबाट अमेरिका पठाइदिन्छु भन्दै ३८ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।