काठमाडौँ । रौतहटको बौधीमाई नगरपालिका–७ बाडा बंकुलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा लुकाइराखिएको फर्सीको बिउ नियन्त्रणमा लिन जाँदा प्रहरी र स्थानीयबीच झडप भएको छ। घटनामा प्रहरीसहित ६ जना घाइते भएका छन्।
शुक्रबार साँझ मस्जिद पछाडिको सीमावर्ती क्षेत्रमा त्रिपालले छोपेर राखिएको फर्सीको बिउ बरामद गर्ने क्रममा केही स्थानीयले अवरोध गरेपछि तनाव उत्पन्न भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी टोलीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय मौलापुरबाट थप टोली परिचालन गरी थप दुई राउण्ड अश्रुग्यास प्रहार गरिएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमको नेतृत्वमा ५४ जना तथा सशस्त्र प्रहरीको २० सदस्यीय टोली परिचालन गरिएको थियो। हाल क्षेत्रको अवस्था सामान्य रहेको बताइएको छ। झडपमा स्थानीय सुदामा देवी राय ४०, हिरा मोतिया देवी यादव ४० र जयलाल ठाकुर हजाम ४५ घाइते भएका छन्। उनीहरूको चन्द्र ज्योति कान्ति अस्पताल, बंकुलमा उपचार भइरहेको छ।
यस्तै, प्रहरी वरिष्ठ हवल्दार गजेन्द्र यादव, प्रहरी सहायक हवल्दार सम्झना चौधरी र प्रहरी सहायक हवल्दार देवराज महतो पनि घाइते भएका थिए। उनीहरूको अवस्था सामान्य रहेको र उपचारपछि ड्युटीमा फर्किएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट ३२२ बोरा फर्सीको बिउ बरामद गरेको छ। प्रति बोरा ४० किलोग्रामका दरले कुल १२ हजार ८८० किलोग्राम बिउ बरामद भएको हो। प्रति बोरा २८ हजार रुपैयाँ मूल्यका आधारमा बरामद बिउको अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।