काठमाडौँ। दाङको लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार बिहान भएको दुर्घटनामा लु १२ प ९८४० नम्बरको मोटरसाइकलले सडक किनारमा रोकिएको ना५ख ९३३६ नम्बरको ट्रकको पछाडिको भागमा ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी करिब ३७ वर्षीय जीवन गिरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकलमा सवार सोही स्थानका करिब ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।