काठमाडौँ। विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट प्रतिबन्धित औषधि तथा खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमान क्षेत्रमा सोमबार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–३ निवासी २२ वर्षीय अनिल राज धामी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा।४ ख ६८६२ नम्बरको हायसमा जाँच गर्ने क्रममा उनको साथबाट ट्रामाडोल १६ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट र डिकोलिक १४ ट्याब्लेट फेला पारेको थियो। यस्तै, ललितपुर महानगरपालिका–२३ मा डेरा गरी बस्दै आएका सर्लाही घर भएका ४० वर्षीय दिनेश कुमार बैठासहित अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ गरिएको खानतलासीका क्रममा दिनेशको कोठाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २१ ग्राम ४६० मिलिग्राम बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।