काठमाडौँ। फिफा विश्वकप २०२६ सुरु हुनुअघि अमेरिकाको मिसौरी राज्यस्थित क्यान्सस सिटीमा भएको गोलीकाण्डमा नौ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटना इङ्ग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीले विश्वकपका क्रममा प्रयोग गर्ने प्रशिक्षण केन्द्र नजिकै भएको हो।
क्यान्सस सिटी प्रहरीले शनिबार भएको घटनामा घाइते भएका सबैको अवस्था खतरामुक्त रहेको जनाएको छ। घाइतेमध्ये कम्तीमा तीन जनालाई थप उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहे पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन। गोली चलेको स्थान इङ्ग्ल्यान्डको विश्वकप आधार शिविरका रूपमा तोकिएको स्वोप सोकर भिलेज प्रशिक्षण केन्द्रबाट करिब चार माइल टाढा रहेको बताइएको छ। यद्यपि, इङ्ग्ल्यान्ड टोली अझै क्यान्सस सिटी नपुगेको र विश्वकपअघि फ्लोरिडाको अर्लान्डोमा कोस्टारिकाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तयारीमा रहेको जनाइएको छ। घटनाबारे इङ्ग्ल्यान्ड फुटबल संघले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। यस घटनाले अमेरिकामा बढ्दो बन्दुकजन्य हिंसाको विषयलाई फेरि चर्चामा ल्याएको छ। ‘गन भायोलेन्स आर्काइभ’का अनुसार सन् २०२५ मा अमेरिकाभर ४०० भन्दा बढी सामूहिक गोलीकाण्डका घटना भएका थिए।
सन् १९६६ मा पहिलो तथा हालसम्मकै एकमात्र विश्वकप उपाधि जितेको इङ्ग्ल्यान्ड यसपटक दोस्रो विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ। टोलीमा कप्तान ह्यारी केन, जुड बेलिङ्घम, डेक्लान राइस, जोर्डन पिकफोर्ड र बुकायो साका जस्ता अनुभवी खेलाडी रहेका छन्। साथै कोबी माइनु, मोर्गन रोजर्स र टिनो लिभ्रामेन्टो जस्ता युवा प्रतिभालाई पनि टोलीमा समावेश गरिएको छ। विश्वकप २०२६ मा इङ्ग्ल्यान्ड समूह ‘एल’ मा क्रोएसिया, घाना र पनामासँग प्रतिस्पर्धा गर्नेछ। टोलीले जुन १७ मा डलासमा क्रोएसियाविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने प्रतियोगितामा ४८ राष्ट्रका १ हजार २ सय ४८ खेलाडीले १ सय ४ खेलमा प्रतिस्पर्धा गर्नेछन्।