काठमाडौँ । भक्तपुरको छालिङ क्षेत्रमा एक व्यक्तिले खुकुरी प्रहार गर्दा उनकी श्रीमतीको मृत्यु भएको छ भने आठ वर्षीय छोरा घाइते भएका छन्। प्रहरीका अनुसार काठमाडौंको शंकरापुर नगरपालिका–६ नाङ्लेभारे स्थायी घर भई खरिपाटीस्थित सैनिक ब्यारेक पछाडि भाडामा बस्दै आएका ३८ वर्षीय विदुर विश्वकर्माले बिहीबार बिहान आफ्नी ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्मामाथि खुकुरी प्रहार गरेका थिए।
घरायसी विवादका क्रममा भएको उक्त घटनामा सलिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट दम्पतीका आठ वर्षीय छोरा त्रिशल विश्वकर्मा पनि घाइते भएका छन्। प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार घटनामा संलग्न विदुर विश्वकर्मालाई नियन्त्रणमा लिइसकिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।