काठमाडौँ । तेह्रथुममा अनुमति बिना यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
म्याङ्लुङ नगरपालिकाको अनुमति नलिई यार्सागुम्बा टिपिरहेको अवस्थामा सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूबाट १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरिएको छ। म्याङ्लुङ नगरपालिका–६ अन्तर्गत भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा २० देखि २५ जनाको समूहले यार्सागुम्बा सङ्कलन गरिरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा मोटरसाइकल पार्किङ गरिएको स्थान नजिकैबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ। वन कार्यालयका अनुसार राजस्व तिरेर अनुमति लिएपछि मात्रै यार्सागुम्बा सङ्कलन गर्न पाइन्छ। नियमविपरीत सङ्कलन गरेमा प्रतिकिलो ३१ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको जनाइएको छ।