काठमाडौँ । प्रहरीले ठूलो परिमाणमा विदेशी मुद्रा अवैध रूपमा बाहिर लैजान खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ निवासी ५० वर्षीय कमल नारायण विश्वास रहेका छन् । उनलाई सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज जाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले बाटिक एयरमार्फत काठमाडौंबाट मलेसिया जान लागेका विश्वासको लगेज परीक्षण गर्दा विभिन्न देशका मुद्रा बरामद गरेको थियो । प्रहरीले उनको साथबाट नेपाली ११ लाख रुपैयाँ, १४ हजार ८५० अमेरिकी डलर, ४१ हजार जापानी येन, १ हजार स्विस फ्र्याङ्क, २३ हजार ६३२ मलेसियन रिङ्गिट, ७ हजार ७७० श्रीलङ्काली रुपैयाँ, ३ हजार ५४० पाकिस्तानी रुपैयाँ तथा २ हजार ९७० ओमानी रियाल फेला पारेको जनाएको छ । बरामद गरिएको रकमसहित पक्राउ परेका विश्वासलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।