काठमाडौँ । अब कुनै पनि घटना वा अपराधको उजुरी दिन प्रहरी कार्यालयसम्म धाउनु नपर्ने भएको छ ।
नेपाल प्रहरीले आफ्नो मोबाइल एपमार्फत घरैमा बसेर उजुरी दिन सकिने सुविधा सुरु गरेसँगै सहजता हुने भएको हो ।
केही दिन अघि केन्द्रीय प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ‘नागरिक सहायता तथा गुनासो व्यवस्थापन’ सेवा सुरु गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डिजिटल प्रविधिको प्रयोगबाट नागरिकलाई छिटो र छरितो सेवा दिने लक्ष्य राखिएको बताए ।
उनका अनुसार अब नागरिकले घटनाको विवरण उल्लेख गरी मोबाइलबाटै अनलाइन उजुरी दर्ता गर्न सक्नेछन् ।
उजुरीकर्ताले आफू रहेको स्थान वा घटना भएको सम्बन्धित जिल्ला तथा इलाका प्रहरी कार्यालयलाई सम्बोधन गरी उजुरी पठाउन सक्ने व्यवस्था मिलाइएको छ।