काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी दान बहादुर कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित एकीकृत यातायात व्यवस्थापन प्रणाली कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गरी अझ उच्चस्तरको समन्वयका साथ अगाडि बढ्ने प्रतिवद्धता र कार्यान्वयनको आवश्यकता रहेको बताए ।
उनले यस्ता गोष्ठी अत्यन्त महत्वपूर्ण एवम् समय सापेक्ष प्रयासको रूपमा स्थापित भएको उल्लेख गर्दै गोष्ठीले नीति निर्माणकर्ता, कार्यान्वयन गर्ने निकाय, विज्ञ, सरोकारवाला संस्था तथा समुदायलाई एउटै मञ्चमा भेला भएर सामुहिक प्रयासमा सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्न सफल भएको बताए।