काठमाडौँ । काठमाडौँमा वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। उनीहरूले आकर्षक तलब र विभिन्न देश पठाइदिने प्रलोभन देखाएर पीडितहरूबाट लाखौं रुपैयाँ उठाई सम्पर्कविहीन भएको आरोप छ।
पक्राउ पर्नेहरूमा उदयपुरका रामबहादुर आले मगर, सिराहाका आशिष कार्की, काठमाडौँका लोकबहादुर श्रेष्ठ र तुलसा पुन मगर, पाल्पाका कृष्णप्रसाद पोखरेल तथा काठमाडौँकै प्रबिन श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार रामबहादुरले क्यानडा पठाइदिने भन्दै ४ जनाबाट ३९ लाख ५८ हजार रुपैयाँ ठगी गरेका थिए। त्यसैगरी आशिषले न्यूजिल्याण्डको प्रलोभन देखाएर १३ लाख रुपैयाँ उठाएका थिए। लोकबहादुरले युके, तुलसाले अमेरिका, कृष्णप्रसादले यूएई र प्रबिनले सर्बिया पठाइदिने भन्दै पीडितहरूबाट क्रमशः १९ लाख, १० लाख, १० लाख र ६ लाख रुपैयाँ लिएको आरोप छ। पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका रामबहादुर र आशिषलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने अन्य चार जनालाई वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।