काठमाडौँ । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)पदमा बढुवा गर्न सिफारिस गरेको छ।
बुधबार बसेको बढुवा समितिको बैठकले जनपद र प्राविधिक तर्फका रिक्त पदहरूमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार यो सिफारिस गरिएको समितिले जनाएको छ।
जनपदतर्फ रिक्त १ जना एसएसपी पदका लागि जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहलाई बढुवाका लागि सिफारिस गरिएको छ।

स्वास्थ्य उपसमूह (चिकित्सक) तर्फ १ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। नेपाल प्रहरी अस्पताल, स्त्री तथा प्रसुती शाखा महाराजगंजमा कार्यरत डा. सेवक श्रेष्ठलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो।

इन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि कम्प्युटरतर्फ २ जना एसपीहरूलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिस हुनेहरूमा सरोज शाक्य (अपराध अनुसन्धान विभाग, सूचना प्रविधि निर्देशनालय, नक्साल) र मनिषराज सापकोटा (प्रहरी प्रधान कार्यालय, सूचना प्रविधि निर्देशनालय, नक्साल) रहेका छन् ।
