काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकहरूविरुद्ध कडा चेकिङ अभियान सुरु गरेका छन् ।
बजार क्षेत्रसँगै राजमार्ग क्षेत्रमा समेत विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय मापसे गरी सवारी चलाउँदा हुने दुर्घटनाको दर बढ्दै गएको र यसले सर्वसाधारणको ज्यानमा गम्भीर जोखिम निम्त्याइरहेको निष्कर्षसहित अभियानलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।अभियानअन्तर्गत राजमार्ग तथा व्यस्त सडक खण्डमा चल्ने बस, अटो, मयुरी, मोटरसाइकल, स्कुटरदेखि सरकारी सवारी साधनसम्म सबैको अनिवार्य चेकिङ भइरहेको छ । प्रहरीले कुनै पनि सवारीलाई छुट नदिई समान रूपमा जाँच गरिरहेको जनाएको छ । मापसे गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने तथा अनावश्यक ध्वनि प्रदूषण गर्ने चालकहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री ले कानुनभन्दा माथि कोही पनि नरहेको स्पष्ट पार्दै नियम उल्लङ्घन गर्ने जोसुकैलाई कडा कारबाही गरिने बताएका छन् ।
उनका अनुसार सरकारी होस् वा निजी सवारी, सबैलाई एउटै नियम लागू हुने भएकाले मापसे गरी सवारी चलाउने र अव्यवस्था सिर्जना गर्ने जोसुकैलाई कारबाही गरिनेछ । प्रहरीले विशेषगरी रातिको समयमा मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दै गएकोले दुर्घटना, झगडा तथा अन्य आपराधिक गतिविधि पनि बढ्ने जोखिम रहेको जनाएको छ । यसलाई नियन्त्रण गर्न दैनिक रूपमा विभिन्न स्थानमा चेकिङ तीव्र पारिएको र आगामी दिनमा अझ सशक्त बनाइने योजना रहेको छ । प्रहरीले चालकहरूलाई जिम्मेवार भएर सवारी चलाउन, मापसेपछि सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै सर्वसाधारणलाई सुरक्षित यात्राका लागि सचेत रहन र नियम उल्लङ्घन गर्नेबारे जानकारी दिन पनि अनुरोध गरिएको छ ।