काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा दिइने भएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ । सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई सहायक हवल्दार पदमा बढुवा भएको अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने भएको छ ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा राखिएको सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उक्त जानकारी दिएका हुन् ।
कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिइन् ।
सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही भएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।