काठमाडौं । नेपाल प्रहरीले देशभरबाट वैशाख महिनामा मात्रै १ हजार ५६ जना कारोबारी र प्रयोगकर्ताहरूलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो परिमाणमा प्राकृतिक तथा औषधिजन्य (फार्मास्युटिकल्स) प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ।
बरामद गरिएका पदार्थहरूमा १ हजार ८ सय २० किलो गाँजा, १९ किलो चरेस, ४ किलो हेरोइन, ७ किलो अफिम, ३३ ग्राम कोकिन र ११ किलो पोलेन रहेका छन्। यसका साथै, युवा पुस्ता माझ तीब्र रूपमा फैलिँदै गएको नियन्त्रित इन्जेक्सन र ट्याब्लेटतर्फ २ हजार ८ सय ९५ एम्पुल डाईजेपाम, २ हजार ८ सय ४५ एम्पुल फेनारगन, २ हजार ९ सय २९ एम्पुल बुप्रेनोर्फिन, २ लाख ३ हजार ३ सय ३८ ट्याब्लेट ट्रामाडोल, २ हजार ५ सय ४१ ट्याब्लेट नाइट्राभेट र २१ हजार ३ सय ९९ ट्याब्लेट स्पास्मो समेत प्रहरीले जफत गर्न सफल भएको छ।
प्रहरीले सार्वजनिक गरेको प्रादेशिक तथ्यांक अनुसार सबैभन्दा बढी कोशी प्रदेशबाट २ सय ६ जना र उपत्यकाबाट १ सय ७१ जना लागूऔषधको अवैध धन्दामा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्। त्यसैगरी, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय ६७ जना, बागमती प्रदेशबाट १ सय ५४ जना, मधेश प्रदेशबाट ७० जना, गण्डकी प्रदेशबाट ५६ जना र कर्णाली प्रदेशबाट २१ जना अभियुक्तहरूलाई नियन्त्रणमा लिइएको छ भने नेपाल प्रहरीको विशेष इकाई लागूऔषध नियन्त्रण ब्यूरोले ४२ जना मुख्य र अन्तर्राष्ट्रिय एजेन्टहरूलाई कानुनी दायरामा ल्याएको छ।
लागूऔषधको दुव्र्यसन र कारोबारले समाज तथा व्यक्तिगत जीवनमा भयानक असर पु¥याउने भएकाले सबै प्रहरी कार्यालयहरूले यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको प्रहरीले जनाएको छ। अपराध नियन्त्रणसँगै प्रहरीले ’समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत देशभर सचेतनामूलक अभियानहरू समेत सञ्चालन गर्दै आएको छ।