काठमाडौं । नेपाल प्रहरीले एक महिनामा देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट विभिन्न प्रकारका कुल २९ थान अवैध हातहतियार र ठूलो परिमाणमा गोलीगठ्ठा बरामद गरिएको छ। बरामद गरिएका हतियारहरूमा चाईनिज पेस्तोल १ थान, पेस्तोल १ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल २ थान, भरूवा बन्दुक २१ थान, अन्य बन्दुक १ थान र एयरगन २ थान रहेका छन्।
यसका साथै प्रहरीले उनीहरूको लुक्ने ठाउँबाट चाईनिज पेस्तोलको १ राउण्ड गोली, एसएलआरको २ सय ६३ राउण्ड गोली र विभिन्न बन्दुकहरूमा प्रयोग हुने ७० राउण्ड गोली समेत जफत गर्न सफल भएको जनाको छ।
भौगोलिक संवेदनशीलताका आधारमा प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशबाट १४ जना अवैध हतियारसहित पक्राउ परेका छन्। त्यसैगरी, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना, काठमाडौं उपत्यका र सुदूरपश्चिम प्रदेशबाट समान ३–३ जना तथा कोशी, मधेश र बागमती प्रदेशबाट १–१ जना अभियुक्तहरूलाई नियन्त्रणमा लिइएको छ।
मुलुकमा हुने तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको अवैध शिकार जस्ता गम्भीर अपराधहरूमा यस्ता अवैध हतियारको प्रयोग बढ्दै गएपछि प्रहरीले आफ्नो गुप्तचरी र सूचना संकलनलाई तीव्र पारेको हो। अवैध हातहतियार ओसारपसार र कारोबार गर्ने गिरोहलाई निस्तेज पार्न देशभर विशेष सुरक्षा तैनाथी बढाइएको जानकारी दिँदै नेपाल प्रहरीले कसैलाई अवैध हतियार लुकाइराखेको जानकारी भएमा तुरुन्त प्रहरीलाई खबर गर्न वा आफैं हतियार बुझाएर कानुनी दायित्व पूरा गर्न आम नागरिकमा अपिल समेत गरेको छ।