काठमाडौँ । नेपाल प्रहरीले फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउ गर्ने विशेष अभियान अन्तर्गत गत वैशाख महिनामा सफलता हात पारेको छ। प्रहरीले एक महिनाको अवधिमा देशभरबाट विभिन्न मुद्दाका कुल २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो। कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका गम्भीर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका उनीहरूलाई प्रहरीले विभिन्न इकाइ र प्रदेशबाट पक्राउ गरेको हो।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेका प्रतिवादीहरूमध्ये केन्द्रीय अनुसन्धान ब्यूरो (ऋक्ष्द्य) बाट १२ जना र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय ६६ जना रहेका छन्। त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी मधेश प्रदेशबाट ७ सय ३० जना र लुम्बिनी प्रदेशबाट ३ सय ३० जना पक्राउ परेका छन्। कोशी प्रदेशबाट ३ सय २६ जना, बागमती प्रदेशबाट १ सय ९९ जना, गण्डकी प्रदेशबाट २ सय ४ जना, सुदूरपश्चिम प्रदेशबाट ८४ जना र सबैभन्दा कम कर्णाली प्रदेशबाट ६८ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
यो कारबाहीसँगै अदालतले तोकेको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ। साथै, पक्राउ परेका प्रतिवादीहरूबाट कुल २१ करोड ५३ लाख ६९ हजार १ सय १० रूपैयाँ जरिवाना समेत असुल उपर गरिएको छ। समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा दण्डहीनताको अन्त्य गर्न फरार अभियुक्त पक्राउ कार्यलाई उच्च प्राथमिकतामा राखेर विशेष अभियान निरन्तर जारी रहने नेपाल प्रहरीले स्पष्ट पारेको छ।