काठमाडौँ । मोरङ को उर्लाबारी–४ निवासी रमेश भण्डारी २९ वर्षका भए। तर उनले आफ्नो जीवनको पछिल्ला आठ वर्ष सर्प उद्धार र जनचेतना फैलाउने काममा समर्पित गरेका छन्। यस अवधिमा उनले १३०० भन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरिसकेका छन्।
खेतबारी, भान्सा, घरको कोठादेखि मानिस सुत्ने ओछ्यानसम्म पुगेका सर्पलाई उनले जोखिम मोलेर उद्धार गरेका हुन्। रमेशको सर्पप्रतिको रुचि २० वर्षको उमेरबाट सुरु भएको थियो। वन प्राविधिक प्रेम विष्टसँगको संगतले उनलाई सर्पबारे बुझ्न र उद्धार गर्न प्रेरित गर्यो। सुरुमा अविषालु सर्प समात्ने क्रममा उनी पटक–पटक डसिए पनि डराएनन्। पछि उनले विषालु सर्पको स्वभाव, जोखिम र उद्धार विधिबारे अनुभवसँगै ज्ञान बढाउँदै लगे। उनका अनुसार सर्प देख्नेबित्तिकै मार्ने प्रवृत्ति गलत हो। “सर्पले आफूलाई असुरक्षित महसुस नगरेसम्म मानिसलाई टोक्दैन,” उनी भन्छन्। सर्पलाई वातावरणीय सन्तुलनका लागि आवश्यक जीव मान्ने रमेश खेतबारीमा मुसा तथा विभिन्न कीरा नियन्त्रणमा सर्पको भूमिका महत्त्वपूर्ण रहेको बताउँछन्।
समाजमा रहेको सर्पप्रतिको डर हटाउन उनी विद्यालय, किसान समूह र विभिन्न संघसंस्थामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनका अनुसार वातावरण र वासस्थान सुरक्षित राख्न सके सर्प मानिसको घरसम्म आइपुग्दैन। सुरुमा परिवारले जोखिमपूर्ण काम भन्दै रोक्न खोजे पनि रमेश आफ्नो अभियानबाट पछि हटेनन्। विशेषगरी वर्षायाममा त उनी दैनिकजसो सर्प उद्धारमै व्यस्त हुन्छन्। सूचना आउनासाथ जुनसुकै समयमा पनि उनी उद्धारका लागि पुग्ने गर्छन्। यो कामबाट आर्थिक आम्दानी नभए पनि समाजमा चिनिनु नै आफ्नो ठूलो उपलब्धि भएको उनी बताउँछन्। साथै, स्थानीय तहमा प्रतिभा र क्षमताको उचित सम्मान नपाएकोमा भने उनले गुनासो गरेका छन्।