काठमाडाैँ । सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको एक भिडियोबारे जिल्ला प्रहरी कार्यालय पर्वतले औपचारिक स्पष्टीकरण दिएको छ
भिडियोमा एक वृद्ध व्यक्तिलाई कालो–सेतो रङको हस्की जातजस्तो देखिने कुकुरले अनुहार चाट्ने तथा टोक्ने प्रयास गरेको देखिएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र नकारात्मक टिप्पणी हुन थालेपछि प्रहरीले चासो दिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार भिडियोमा देखिएका वृद्ध व्यक्ति, कुकुरका धनी तथा सम्बन्धित स्थानका स्थानीयलाई कार्यालयमा बोलाएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजनकुमार पटेलले जानकारी दिए । उनका अनुसार वृद्ध व्यक्ति शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति रहेको खुलेको छ।
प्रहरीका अनुसार कुकुरका धनीले कुश्मा बजार क्षेत्रमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । ती वृद्ध व्यक्ति उक्त रेष्टुरेन्टमा नियमित रूपमा जाने, सञ्चालकलाई “आमा” भनेर सम्बोधन गर्दै खाजा तथा खाना मागेर खाने गरेको बुझिएको छ ।
प्रहरीको भनाइअनुसार भिडियोमा देखिएको कुकुर वृद्ध व्यक्तिसँग पहिलेदेखि नै नजिक रहेर खेल्ने, जिस्किने र सामान्य रूपमा टोक्ने व्यवहार गर्ने गरेको पाइएको छ ।
