बारा । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले प्रहरी कार्यालयमा सेवाका लागि आउने नागरिकलाई दुःख दिने भन्दा पनि छिटोछरितो सेवा प्रवाहमा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै आईजीपी कार्कीले न्याय प्रक्रियामा बिचौलिया र अनावश्यक व्यक्तिको हस्तक्षेप हुन नदिन समेत निर्देशन दिए ।
पीडितलाई न्याय दिन प्रहरी कर्मचारी आफै जिम्मेवार भएर लाग्न निर्देशन दिंदै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले काम गरिरहेको बताए ।
सम्बोधनका क्रममा तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका उनले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने प्रवृत्ति स्वीकार्य नहुने बताए ।
उनले भने,‘घरमा प्रयोगका लागि ल्याइने एक किलो काउली समात्ने प्रहरीले काउलीका काउली छोड्ला । त्यस्तो गर्ने प्रहरीको टिकट काटिन्छ, कारवाही हुन्छ । त्यसैले कारवाहीको भागेदार हुने काम नगर्नु । तस्करी नियन्त्रणमा जिम्मेवार भएर काम गर्नु ।’
कार्कीले तस्करी नियन्त्रणका लागि प्रहरी मात्र नभई समुदाय पनि जागरुक हुनुपर्ने बताए । सम्बोधनका क्रममा उनले लागूऔषध समाजको मुख्य समस्याका रहेको बताए ।
लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिका कारण सिंगो समाज पीडित हुन नहुने उल्लेख गर्दै कार्कीले ओसारपसार र बिक्रीमा संलग्नविरुद्ध निर्मम रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् ।
उनले भने,‘लागूऔषधले धेरैको घरपरिवार बिचल्ली पारेको छ । ऊर्जाशील युवाहरू यसैको कुलतमा फसिरहेका छन् । यसलाई नियन्त्रण गर्नुको विकल्प छैन । यसविरुद्ध निर्मम भएर लाग्न जरुरी छ ।’
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए । सभ्य र सुरक्षित समाज निर्माणमा सबैको सामूहिक प्रयास तथा सहकार्य आवश्यक रहेको चर्चा गर्दै उनले नागरिकबाट प्राप्त साथ, सहयोग, समर्थन र सद्भावले प्रहरीलाई अझ उत्प्रेरित भई कार्य गर्न ऊर्जा प्राप्त भएको बताए ।