काठमाडौँ । सर्लाही मा एक पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राई का अनुसार आइतबार साँझ करिब ४:३० बजे गोडैता नगरपालिका–६ स्थित बग्दह क्षेत्रको चिनिमिल नजिक हुलाकी सडक छेउमा बेवारिसे शव भेटिएको हो ।
स्थानीयवासीले दुर्गन्ध आएपछि आसपास खोजी गर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी चौकी गोडैताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार करिब ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव अत्यधिक सडेको अवस्थामा भेटिएको छ । मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन ।घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा मृतकको परिचय खुलाउने प्रयाससँगै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।