काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हराएका ६५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष खोजतलास अभियान सञ्चालन गरी फेला परेका ती मोटरसाइकल आइतबार एक कार्यक्रममार्फत सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार वैशाख महिनामा मात्रै हराएका ६५ वटा मोटरसाइकल खोजी गरी फिर्ता गरिएको हो। उनका अनुसार कतिपय सवारी साधन विभिन्न स्थानबाट फेला पारिएको थियो। उनले सवारी साधन चोरीका घटना न्यूनीकरण गर्न अतिरिक्त लकिङ सिस्टम जस्ता सुरक्षा उपाय अपनाउन आवश्यक रहेको बताए। ट्राफिक प्रहरीले सवारी साधन हराएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी दिन र आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।