काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ को टोखा–३ ढलमल क्षेत्रबाट ट्रामाडोल १५८ ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २६ वर्षीय विजय तामाङ र २६ वर्षीया अञ्जना पाठक रहेका छन् । सुनसरीको धरान–९ स्थित रत्न होटलबाट खैरो हेरोइनजस्तो पदार्थ ३६ ग्राम ९१० मिलिग्रामसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सन्देश तामाङ, समिर दियाली र क्षितिज भण्डारी रहेका छन् । प्रहरीले उनीहरूले प्रयोग गरेको दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ । यस्तै कञ्चनपुरको गड्डाचौकीबाट खैरो हेरोइन र चरेससहित १९ वर्षीय आयुष नेपाली पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ एक्लोडाँडाबाट ट्रामाडोल ७६ र नाइट्राजेपाम १७९ ट्याब्लेटसहित एलस राई र जयमान लामा पक्राउ परेका छन् ।
झापाका विभिन्न स्थानबाट पनि लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । बिर्तामोडबाट अञ्जली रोइला, अर्जुनधाराबाट सुमन थापा तथा कनकाईबाट मेघराज दियाली पक्राउ परेको प्रहरीले जनाएको छ । तनहुँको आँबुखैरेनीबाट ट्रामाडोल ८८ ट्याब्लेटसहित पोखराका बिदुर पौडेल पक्राउ परेका छन् । बर्दियामा ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन थारू, दिलबहादुर थारू, अमृत प्रसाद पौडेल र रुद्रबहादुर गुरुङ रहेका छन् । यस्तै बाँकेको बैजनाथ गाउँपालिका–५ बाट जुबेर हलुवाईलाई ब्राउनसुगरजस्तो पदार्थ १ ग्राम २१० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।