काठमाडौँ । रौतहटको गौरमा खेलौना पेस्तोल देखाएर सर्वसाधारणलाई आतंकित बनाउँदै लुटपाटको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वैशाख २३ गते राति करिब ९ः३० बजे गौर नगरपालिका–५ स्थित बि।पि। चोक क्षेत्रमा हिँडिरहेका मानिसहरूलाई पेस्तोल देखाएर पैसा माग्दै डर त्रास फैलाएको आरोपमा परोहा नगरपालिका–४ का २० वर्षीय शेख जवेरलाई नियन्त्रणमा लिइएको हो । प्रहरी अनुसन्धानका क्रममा जवेरले बोकेको वस्तु वास्तविक हतियार नभई खेलौना पेस्तोल रहेको खुलेको छ । मादक पदार्थ सेवन गरेका उनले उक्त खेलौना पेस्तोल देखाउँदै बाटोमा हिँड्ने व्यक्तिहरूलाई धम्क्याइरहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेर उनलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने पनि जनाएको छ ।