काठमाडौँ । मकवानपुर प्रहरीले अवैध रूपमा ढुवानी भइरहेको सालको काठसहित एक गाडी नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले बिहान करिब १:४० बजे चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको बा.२० च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा–५, क्याम्पाडाँडामा रोकेर जाँच गर्न खोजेको थियो ।
तर प्रहरी देख्नेबित्तिकै गाडी चालक फरार हुने प्रयास गर्दै भागेपछि प्रहरी टोलीले पछ्याउँदै हेटौँडा–२, सानोपोखरा चोकस्थित भित्री सडकमा गाडी नियन्त्रणमा लिन सफल भएको हो । तलासीका क्रममा त्रिपालले छोपेर लुकाइएको अवस्थामा ४१ थान ९७२.५९ क्युफिट० सालको काठ फेला परेको प्रहरीले जनाएको छ । बरामद काठसहित गाडीलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हेटौँडामा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।