काठमाडौँ । सर्लाही प्रहरीले मलंगवा नगरपालिका–८ स्थित हनुमान टोलमा भएको सुनचाँदी चोरी घटनामा संलग्न रहेको आरोपमा तीन बालकसहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत सोमबार राति करिब २ः५२ बजे स्थानीय राजीव शर्माको घरबाट सुनचाँदीका गरगहना तथा अन्य सामग्री चोरी भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। घटनास्थलमा गरिएको सूक्ष्म अनुसन्धान र विभिन्न प्रविधिको प्रयोगबाट चोरीमा संलग्न भएको आशंकामा तीन बालकको पहिचान गरिएको प्रहरीले जनाएको छ। ती बालकहरूलाई वैशाख २२ गते नियन्त्रणमा लिइएको हो। पक्राउ परेका बालकहरूको उमेर ११, १४ र १५ वर्ष रहेको बताइएको छ।
यस्तै, घटनामा संलग्न रहेको आरोपमा ३५ र ४० वर्ष उमेरका दुई महिलालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने सार्वजनिक गरिएको छैन। प्रहरीले पक्राउ परेकाहरूको घरमा खानतलासी गर्दा चोरी भएका विभिन्न सामग्री बरामद गरेको जनाएको छ। बरामद सामानमा सुनका औँठी, मंगलसूत्र, तिलहरी, कानका टप, चाँदीका बाला, पाउजु, बिछिया, घडी, लेडिज पर्स, मोबाइल फोन तथा चेकबुकलगायत रहेका छन्। घटनामा संलग्न सबैमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। सर्लाही जिल्ला अदालत बाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राई ले जानकारी दिए।