काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको आरोप छ। सोही कारण ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। अनुसन्धानमा मूल सम्झौताको विपरीत कर तथा शुल्क छुट दिने कार्यान्वयन सम्झौता गरिएको र त्यसबाट सार्वजनिक रकम दुरुपयोग भएको निष्कर्ष निकालिएको आयोगले जनाएको छ। मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन सरकारी अधिकारीहरू तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरू पनि रहेका छन्। अब यो मुद्दा विशेष अदालत काठमाडौंमा सुनुवाइ हुने छ।