काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित एक क्याफेबाट प्रहरीले गैँडाको खाग जस्तो देखिने वस्तुसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय संजय मान सिंह श्रेष्ठसहित तीन जना रहेका छन्।
काठमाडौँ महानगरपालिका–१ दरबारमार्गमा रहेको ओरियन्ट क्याफेमा अवैध वस्तुको कारोबार भइरहेको जानकारी पाएपछि प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी टोली खटिएको थियो। क्याफेमा तलासी लिने क्रममा उनीहरूको साथबाट करिब १ किलो ७५ ग्राम तौल भएको गैँडाको खाग जस्तो देखिने वस्तु १ थान बरामद गरिएको छ।
बरामद गरिएको वस्तु वास्तवमै गैँडाको खाग हो वा अन्य कुनै चिज, सोको परीक्षण र पुष्टि गर्न प्रहरीले प्रक्रिया अगाडि बढाएको छ। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी दुर्लभ वन्यजन्तुको अङ्ग तस्करी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।