काठमाडौँ। रुपन्देही जिल्ला स्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जना नेपाली पक्राउ परेका छन्। सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटेल गौतम बुद्ध इन्टरनेशनल भित्र सञ्चालनमा रहेको रोयल कालिङ्गा क्यासिनोबाट मंगलबार राति करिब ८ बजे प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देही को संयुक्त टोलीले सञ्चालन गरेको अपरेसनका क्रममा क्यासिनो म्यानेजरसहित जुवा खेलाउने ४ जना र खेल्ने १५ जना गरी कुल १९ जनालाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरू विभिन्न स्थानका बासिन्दा रहेका छन्। उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, विभिन्न कम्पनीका १७ थान मोबाइल फोन र ५० थान क्यासिनो क्वाइन बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।