काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालको पदावधि सकिएसँगै बिदाइ गरिएको छ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले शुक्रबार प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहका बीच मायाको चिनो प्रदान गरी अर्याललाई बिदाइ गरेका हुन् ।
सो अवसरमा अर्यालले नयाँ आईजीपी पौडेललाई संगठन प्रमुखको ‘कमान्ड स्टिक’ (छडी) र सशस्त्र प्रहरी बल नेपालको झन्डा हस्तान्तरण गर्दै नेतृत्व सुम्पिएका छन्। सोही क्रममा अर्यालले पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी बरबुझारथ समेत गरे।बिदाइ समारोहलाई सम्बोधन गर्दै अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक कार्यकाल पुरा गर्नुलाई जीवनको महत्त्वपूर्ण उपलब्धि तथा गौरवको विषय भएको बताए।
उनले सशस्त्र प्रहरी संगठनलाई परिवारको रूपमा लिएर अनुशासन, त्याग, इमानदारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको अनुभव सुनाए। नवनियुक्त आईजीपी पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने बताए ।