काठमाडौँ । सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम विस्फोट घटनामा संलग्न रहेको आरोप लागेका एक अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–१ स्थित बार एसोसिएसनको भुइँ तलामा रहेको ‘कामधेनु ल फर्म’ मा भएको विस्फोट घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका २९ वर्षीय गुमस्ताकुमार यादवलाई अदालतको आदेशअनुसार कारागार पठाइएको हो। सुखीपुर नगरपालिका–३ लक्ष्मिनिया टोलका बासिन्दा यादव सोही ल फर्ममा कर्मचारीका रूपमा कार्यरत थिए। गत चैत २७ गते भएको विस्फोटपछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको थियो।अनुसन्धान पूरा गरी जिल्ला अदालत सिरहामा पेश गरिएपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।