काठमाडौँ। आफ्नै बाबुको हत्या गरेको आरोपमा फरार रहेका एक व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन् । रौतहटको गरुडा नगरपालिका–१ का ४९ वर्षीय राम बिलास महतोले २० जेठ २०६४ मा ६५ वर्षीय आफ्नै बाबु बिशेश्वर महतोको हत्या गरेको आरोप छ ।
प्रहरीका अनुसार घटनाका बेला उनले बाबुको हातखुट्टा बाँधी धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । घटना पछि उनी फरार रहेका थिए । प्रारम्भिक अनुसन्धान अनुसार मृतक बिशेश्वर महतोले गाउँका विभिन्न व्यक्तिसँग ऋण लिएको र जग्गा विवादसमेत रहेको पाइएको छ । सोही विवादका कारण आरोपित छोराले बाबुको हत्या गरेको प्रहरीको अनुमान छ । रौतहट प्रहरीका प्रवक्ता विष्णु प्रसाद बस्यालका अनुसार लामो समयदेखि फरार रहेका राम बिलास महतोलाई १८ वर्षपछि पक्राउ गरिएको हो । उनीमाथि ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।