काठमाडौँ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्व र अस्थायी प्रहरी चौकी पाखापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब ८० रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती फडानी गरेको हो।
प्रहरीका अनुसार दुर्गम भूगोल, पहुँचको कठिनाइ र निगरानीको चुनौतीका बीच भइरहेको यस्तो अवैध खेतीविरुद्ध यो कारबाही नियमित नियन्त्रण अभियान अन्तर्गत गरिएको हो। प्रहरीले समयमै हस्तक्षेप गरेर सम्भावित लागुऔषध दुरुपयोग तथा अवैध कारोबार रोक्न सफल भएको जनाएको छ। साथै, लागुऔषध नियन्त्रणका लागि निगरानी र सचेतनामूलक गतिविधि अझ कडाइका साथ अघि बढाइने र यस्ता गतिविधि देखिएमा स्थानीयले तत्काल जानकारी गराउन आग्रह गरिएको छ।