काठमाडौं । नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाकाअनुसार विगतका विपद्का घटनालाई मध्यनजर गर्दै बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने क्षतिलाई न्यून गर्न योजना निर्माण तथा तयारी अघि बढाइएको छ।
यसका लागि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य भइरहेको सेनाले जनाएको छ।सेनाले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको ‘सुकुम्वासीहरूको विवरण माग’ सम्बन्धी खबरप्रति पनि स्पष्टीकरण दिइएको छ।सेनाका अनुसार उक्त कार्य विपद्को समयमा उद्धार, राहत वितरण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सम्भावित जोखिमको नक्साङ्कन (हाजार्ड म्यापिङ) तथा तथ्याङ्क अद्यावधिकका लागि गरिएको हो। स्थानीय युनिटहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा सम्भावित विपद्को पूर्वआकलन गर्दै आवश्यक सुरक्षा फौज परिचालनका लागि तयारी अवस्थामा राखिएको समेत जनाइएको छ।

