काठमाडौँ। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ७४६ जना सवारी चालकलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ७९ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने २२५ जना, रातोबत्ती उल्लङ्घन गर्ने १७५ जना तथा तीव्र गतिमा सवारी चलाउने १४८ जना चालक कारबाहीमा परेका छन्।
यस्तै, लेन मिच्ने ३२४ जना, सडक फुटपाथ प्रयोग गर्ने १४९ जना, हर्न निषेध क्षेत्र उल्लङ्घन गर्ने ५५ जना, यात्रु ओराल्ने–चढाउने नियम उल्लङ्घन गर्ने ५४ जना तथा अन्य विभिन्न कसुरमा १ हजार ५३७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उक्त कारबाहीबाट २९ लाख ६४ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको छ। प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएकाले यस्तो गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको १०० नम्बरमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।