काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ४१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीका क्रममा विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र पाइने १३० थान ट्रामाडोल ट्याब्लेट र नगद ६८ हजार २०० सहित एक किशोर पक्राउ परेका छन्। त्यस्तै, कैलाली, सुर्खेत, कपिलवस्तु, सुनसरी र दाङलगायतका स्थानबाट खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन्। उनीहरूको साथबाट लागुऔषध तौलन प्रयोग हुने तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ सुकेधारा र बल्खुचोक क्षेत्रबाट पनि ट्रामाडोल ट्याब्लेट र नगदसहित थप व्यक्तिहरू पक्राउ परेका छन्। बल्खुचोकबाट मात्रै ९९८ थान ट्रामाडोल र १६ हजार ५०० रुपैयाँ बरामद गरिएको छ। यसैगरी इलाम, झापा, कञ्चनपुर, रुपन्देही, मोरङ, रुकुमपश्चिम, बर्दिया, पोखरा र धनुषालगायतका विभिन्न स्थानबाट समेत लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।