काठमाडौँ । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा शनिबार साँझ गोली चलाउने संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गरिएको छ। प्रहरीको नियन्त्रणमा रहेका उक्त व्यक्तिको तस्वीर राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक गरेका हुन्।
प्रारम्भिक जानकारीअनुसार एक सशस्त्र व्यक्ति सुरक्षा घेरा तोड्दै कार्यक्रम स्थलभित्र प्रवेश गर्न खोजेपछि सेक्रेट सर्भिसका सुरक्षाकर्मीहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए। घटना हुँदा हलभित्र रहेका राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानमा सारेका थिए। मुठभेडका क्रममा एक सुरक्षाकर्मी घाइते भएका थिए, तर उनले लगाएको बुलेटप्रुफ ज्याकेटका कारण ठूलो क्षति हुनबाट जोगिएको जनाइएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत सुरक्षाकर्मीहरूको साहसको प्रशंसा गर्दै घाइतेको अवस्था सामान्य रहेको बताएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार सुरुमा ठूलो आवाज सुन्नासाथ उपस्थित पाहुना र कर्मचारीहरू आत्तिएर टेबलमुनि लुकेका थिए। केही समयमै अत्याधुनिक हतियारसहित सुरक्षाकर्मीहरू परिचालन भई स्थिति नियन्त्रणमा लिएको जनाइएको छ।