काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले इलामको फाकफोकथुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बु भन्ने सुशन थेगिम लिम्बुलाई मंगलबार पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट लिम्बुले निकै चलाखीपूर्ण तरिकाले पीडितलाई फसाउने गरेको खुलेको छ। उनले सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत पीडितसँग चिनजान गरी विभिन्न प्रलोभन देखाउने गरेका थिए।
पीडितलाई अमेरिकी डलर र बहुमूल्य गरगहनालगायतका उपहार डिएचएल मार्फत पठाएको भन्दै उनले विश्वास दिलाएका थिए। सो सामान काठमाडौं विमानस्थलमा रहेको डिएचएल शाखामा आइपुगेको भन्दै उनले कस्टम चार्ज र कर बापतको रकम तिर्नुपर्ने बहाना बनाएका थिए। सोही बहानामा उनले पीडितलाई विभिन्न बैंक खातामा २ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका लिम्बुलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ। अनलाइन ठगीका घटनाहरू बढिरहेको भन्दै प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ।