काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१७, क्षेत्रपाटी बस्दै आएका नुवाकोटको विदुर नगरपालिका–४ का २३ वर्षीय बिकेश शाही भन्ने विज्ञान परियारलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
गोकर्णेश्वर नगरपालिका–८, माकलबारीस्थित एक कोठाबाट गत पुस २७ गते भएको चोरीको अनुसन्धानका क्रममा परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गत पुस २७ गते माकलबारीस्थित एक घरमा चोरी भएको थियो। उक्त घटनामा पीडितको कोठाबाट सुनका विभिन्न गरगहना, एक थान मोबाइल र नगद १ लाख ६२ हजार रूपैयाँ चोरी भएको थियो। सोही घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय, बौद्धबाट विशेष टोली खटिएको थियो।
पक्राउ परेका परियारमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त, बौद्ध पठाइएको छ। घटनाको थप पाटोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।