नेपालगञ्ज । नेपालगञ्जमा लागुऔषध र हातहतियारसहित एक जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागु औषध र हतियारसहित बाँकेका एक युवकलाई पक्राउ गरेको हो । ब्यूरोको टोलीले बाँकेको खजुरा गाउँपालिका–५ बस्ने २६ वर्षीय अजिजुल रहमान खाँलाई लागु औषधको अवैध कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीले अभियुक्त खाँको साथबाट लागु औषधका साथै आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने विभिन्न बस्तुहरू बरामद गरेको छ । जसमा प्रहरीले उनको साथबाट २७५ ग्राम खैरो हिरोइन, पेस्तोल १ थान र सोमा प्रयोग हुने २ राउन्ड गोली, विभिन्न बैंकका १३ थान चेक, डिजिटल तराजु १ थान, २ थान गाडी, ३ थान मोबाइल सेट र केही सुनका गरगहनासमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
लागु औषध नियन्त्रण ब्यूरोका अनुसार, पक्राउ परेका खाँलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा बुझाइएको छ। उनीमाथि ’लागु औषध (नियन्त्रण) ऐन, २०३३’ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको ब्यूरोका सह–प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।