काठमाडौँ । कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध तथा हतियारसहित ११ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये ६ जना कैलाली र ५ जना कञ्चनपुरका रहेका छन्।
प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ बाट २५ वर्षीय राजन हमाल ५१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ परेका हुन्। उक्त पदार्थ उनले घर नजिकै कुखुरा फार्ममुनि लुकाएर राखेको अवस्थामा फेला पारिएको जनाइएको छ। यस्तै, घोडाघोडी नगरपालिका–५ देउकलियाबाट १९ वर्षीय पूर्णबहादुर विष्ट र १९ वर्षीय सुरज नेपालीलाई १७० ट्याब्लेट नाइट्राजेपाम र एक थान चक्कुसहित नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडबाट २८ वर्षीय जीवनबहादुर खड्का र कञ्चनपुरकी १८ वर्षीया किशोरीलाई ४८० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित कञ्चन बहुमुखी क्याम्पस नजिकबाट ३२ वर्षीय हर्कबहादुर देउवा र ३६ वर्षीय दिलबहादुर चौधरी ४३० मिलिग्राम खैरो हेरोइनसहित समातिएका छन्। त्यसैगरी, दोधारा चाँदनी नगरपालिका–२ लठ्ठाघाटमा रहेको एक पसलबाट ९ ग्राम ८३० मिलिग्राम चरेशजस्तो पदार्थसहित ४० वर्षीय गोर्खे दमाई र उनका १८ वर्षीय छोरा पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका–१० बाट पनि ७० वर्षीय भीमबहादुर ऐरलाई २१ दशमलव ४७ ग्राम चरेशसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको र घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।