काठमाडौँ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणले गम्भीर विवाद निम्त्याएको छ। मृतकका परिवारले प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएको आरोप लगाउँदै निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन्। सुनकोशी गाउँपालिका–३ का विक वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ परेपछि खुर्कोटमा राखिएको परिवारको भनाइ छ।
परिवारका अनुसार प्रारम्भमा बालविवाहको आरोपमा पक्राउ गरिए पनि पछि जबरजस्ती करणीको मुद्दा लगाइएको थियो, जसलाई उनीहरूले शंकास्पद बताएका छन्। हिरासतमा मानसिक तथा शारीरिक दबाब दिइएको र जबरजस्ती बयान गराउन खोजिएको आरोप समेत लगाइएको छ। ‘आत्महत्या गरेको भन्ने दाबी विश्वसनीय छैन,’ परिवारले जनाएको छ। निष्पक्ष छानबिन नभएसम्म पोस्टमार्टम र दाहसंस्कार नगर्ने अडान पनि उनीहरूले लिएका छन्। यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने घटनाबारे बाहिर आएका समाचारलाई भ्रामक भन्दै खण्डन गरेको छ। प्रहरीका अनुसार विक हिरासतभित्रै शौचालयको भेन्टिलेसनमा झुन्डिएको अवस्थामा फेला परेका थिए र उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा पीडित पक्ष, दलित संघ–संस्था र सरोकारवाला निकायका प्रतिनिधि समावेश गरिएको जनाइएको छ। यसैबीच राष्ट्रिय दलित आयोगले घटनालाई गम्भीर रूपमा लिँदै स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न आग्रह गरेको छ। आयोगले दोषीलाई कानुनबमोजिम कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। छानबिन जारी रहेकाले प्रतिवेदन सार्वजनिक भएपछि मात्र घटनाको वास्तविकता स्पष्ट हुने अपेक्षा गरिएको छ। परिवार, प्रहरी र आयोगका फरक–फरक दाबीले घटनालाई थप संवेदनशील बनाएको छ।