काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। काठमाडौँ महानगरपालिका–११ बबरमहलमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकलले पार्किङमा राखिएको स्कुटरमा ठक्कर दिँदा अनियन्त्रित भई अर्को मोटरसाइकलमा समेत ठोक्किएको थियो। दुर्घटनामा अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी, मोरङको बुढीगंगा गाउँपालिका–७ सिसवनीमा सिटी सफारीले साइकल यात्री ६९ वर्षीय बलराम विश्वासलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।
गम्भीर घाइते भएका विश्वासको विराटस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै, धनुषाको विदेह नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पैदलयात्री चौधरी मण्डल खत्वेको मृत्यु भएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। घटनामा संलग्न मोटरसाइकल र चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। तीनै घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।