काठमाडौँ । भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा एक बिरामीका सुनका गहना चोरी भएको घटना सार्वजनिक भएको छ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ की ५७ वर्षीया रती वली पित्तथैलीमा पत्थरीको समस्या भएपछि वैशाख ५ गते अस्पतालमा भर्ना भएकी थिइन्। भोलिपल्ट गरिएको शल्यक्रिया सफल भएको थियो। अस्पतालका अनुसार अपरेसनअघि बिरामीका शरीरमा रहेका धातुजन्य वस्तु हटाउने क्रममा उनका कानमा रहेका सुनका मुन्द्रा निकै कस्सिएका कारण निकाल्न नसकिएपछि टेपले बेरिएरै अपरेसन गरिएको थियो।
तर, अपरेसनपछि वार्डमा सारिएपछि उनकी छोरीले आमाको कानमा गहना नदेखेपछि खोजी सुरु भएको थियो। त्यसपछि अस्पताल प्रशासनलाई जानकारी गराइएपछि प्रहरीलाई बोलाएर अनुसन्धान अघि बढाइएको थियो। सिसीटिभी फुटेजको अध्ययनबाट अस्थायी कर्मचारी, ट्रली सार्ने सहयोगी २२ वर्षीय विकास बाल्मिकीमाथि शंका केन्द्रित भएको थियो। अनुसन्धानका क्रममा उनले बिरामीलाई अर्को कोठामा सार्ने क्रममा कानका मुन्द्रा निकालेर टेप मात्र लगाइदिएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरी सोधपुछमा उनले गहना घर लगेको स्वीकार गरेका छन्। चोरी गरिएका गहना पछि उनले अस्पतालमै फिर्ता ल्याएका थिए। उनलाई वैशाख ७ गते प्रहरीले नियन्त्रणमा लिएको छ। अस्पताल प्रशासनले घटनामा संलग्न भएको पुष्टि भएपछि उनलाई सेवाबाट निष्कासित गरेको जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया प्रहरीले अघि बढाइरहेको छ।