काठमाडौँ । ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवन बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नागरिकको सहयोगले प्रहरी संगठन थप जिम्मेवार र सशक्त बनेको बताए।
उनले सुरक्षा केवल अपराध नियन्त्रणमा सीमित नभई स्वास्थ्य, खाद्य, कानुनी तथा जिउधन सुरक्षासम्म फैलिएको बहुआयामिक विषय भएको उल्लेख गरे। विशेषगरी सडक सुरक्षा अत्यन्त संवेदनशील रहेको भन्दै नागरिक घरबाट निस्किएपछि सुरक्षित रूपमा गन्तव्यमा पुगेर फेरि सुरक्षित रूपमा फर्किन पाउने वातावरण सुनिश्चित गर्नु प्रहरीको मुख्य दायित्व भएको उनको भनाइ थियो।
उनले सडक दुर्घटना, खाल्डाखुल्डी, अव्यवस्थित ढल तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने जस्ता जोखिमप्रति प्रहरी अझ संवेदनशील हुनुपर्ने बताए। साथै, सडकमा लामो समय खटिने ट्राफिक प्रहरीका लागि आधारभूत सुविधा र सुरक्षित कार्यस्थल आवश्यक रहेको पनि उनले जोड दिए। गत २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको पुरानो भवन पुनःनिर्माणपछि सञ्चालनमा आएको हो। नयाँ भवनले सेवा प्रवाह अझ सहज बनाउने अपेक्षा गरिएको छ।