काठमाडौँ । गत चैत महिनामा देशभर विभिन्न विपद्का घटनामा परी ३० जनाको मृत्यु भएको छ। आगलागी, हुरी, चट्याङ, हिमपातलगायतका घटनामा १६ पुरुष, १० महिला र ४ बालबालिकाको ज्यान गएको हो। सो अवधिमा २२२ जना घाइते भएका छन् भने १९१ घर, ११७ गोठ र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै ५२९ वटा चौपाया पनि मरेका छन्।
सरकारी तथ्यांकअनुसार विपद्बाट करिब ३३ करोड ७२ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ। सोही अवधिमा १४३ जना विस्थापित भएका छन्। प्रहरीका अनुसार विपद् व्यवस्थापन तथा उद्धारका लागि ४ हजार ८४१ प्रहरी परिचालन गरिएको थियो। प्रदेशगत रूपमा हेर्दा कोशी, मधेस, बागमती, काठमाडौँ उपत्यका, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरी कुल ९ सय भन्दा बढी विपद्का घटना दर्ता भएका छन्।